Sun. May 5th, 2024

अराजकता ल्याउन खोज्ने तत्वहरुलाई चिडियाखानामा लगेर बन्द गरिनेछः गृहमन्त्री थापा

काठमाडौं, २०७७ माघ २४ गते शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको बताउनुभएको छ ।

नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । घटनाको कारणलाई ठीकसँग बुझेर मात्र त्यसको सामना गर्न सकिने हुनाले परिस्थिति बुझेर त्यसको सामना गर्ने काम भइरहेको बताउनुभयो । “राजनीतिक सत्ताको केन्द्रीय सत्ता भनेकै प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, त्यो पार्टीको अध्यक्षसँग जोडिएको हुन्छ” नेता बादलले भन्नुभयो, “यो अवस्था उत्पन्न हुनुको पछाडि पदबाट विस्थापित गर्ने षडयन्त्रसँगै जोडिएको छ, यसलाई हामीले बुझ्नुपर्छ ।”

पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताउनुहुँदै उहाँले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गर्नुभयो । यसको सामना गरेरै मात्र राजनीतिक शक्ति हासिल गर्न सकिने र संविधानको रक्षा गर्न सकिने उहाँले बताउनुभयो । अहिलेसम्म प्राप्त उपलब्धीको रक्षा गर्न र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरुको अभियान रहेको उहाँले बताउनुभयो ।

“प्रतिगमनकारी तत्वहरुले सबै प्रकारका षडयन्त्र र भ्रमको सहारा लिइरहेका छन” गृहमन्त्री बादलले भन्नुभयो, “अस्थिरता कायम गर्न खोज्ने नेतृत्वले आत्मसमर्पन नगरे तिनीहरुलाई जनताको बलमै असफल बनाइने छ, मांसाहारी आन्दोलन गर्ने गर्नेहरु कानुनतः दण्डित हुनेछन ।” अपराधीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेर बन्द गरिने उहाँले चेतावनी दिनुभयो ।

आगामी निर्वाचनमा अग्रगमन चाहने शक्तिलाई नै जनताले विजय बनाउने विश्वास गर्नुहुँदै गृहमन्त्री थापाले नारायणहिटी अगाडिको आमसभाले गणतन्त्रको रक्षा गर्न आफूहरु लागिपरेको सन्देश दिएको बताउनुभयो । देशलाई प्रतिगमनमा लग्न खोज्ने तत्वहरुलाई कुनै हालतमा परास्त गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो । गणतन्त्रको रक्षा र सुदृढीकरणकालागि आमसभाको आयोजना गरिएको उहाँले बताउनुभयो । गोरखापत्र

Facebook Comments