Thu. Apr 24th, 2025 10:07:28

पत्रकार महासंघ काठमाडौं शाखाद्वारा १४ जना अग्रज पत्रकार सम्मानित हुँदै

काठमाडौं, २०७७ माघ २३ गते शुक्रबार

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्नो २२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा विभिन्न पुरस्कारद्वारा १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

काठमाडौं शाखाले भोलि शनिवार प्रज्ञाभवन कमलादीमा अन्तक्रिया, अग्रज पत्रकार सम्मान तथा “पत्रकारिता” नामक स्मारिकाको लोकापर्ण गर्दैछ ।

शाखाले आफ्ना पुर्वसभापति अशोक श्रेष्ठ लगायत अन्य दिवंगत पत्रकारहरुको स्मृतिमा स्थापना गरेको पुरस्कार तथा सम्मान साधारणसभाको अवसरमा वितरण गरिने अध्यक्ष शन्तराम बिडारीले जानकारी दिनु भएको छ ।

यसअघि ७ वटा पुरस्कार तथा सम्मान रहेकोमा १० औं अधिवेशन यता शाखाले वरिष्ठ तथा कर्मठ ६ पत्रकार गुमाएको छ । विगतका ७ र यो पटक थपिएका ६ गरी १३ जना अग्रजहरुको नाममा प्रतिव्यक्ति रु। २० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गर्न लागिएको उपाध्यक्ष सूर्य सुवेदीले बताउनु भयो । विगतमा अग्नीशिखा र तारा न्यौपानेको नाममा संयुक्त रुपमा दिँदै आएको पुरस्कार यसपटकबाट अलग गरि वितरण सचिव मोहन पन्तले जानकारी दिनु भएको छ ।

यसपटक पुरस्कृत हुन लाग्नु भएका अग्रज पत्रकारहरुमा अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार(राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार(शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार(बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार(देबेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार(निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार(विश्वराज किरात रहनु भएको छ ।

त्यस्तै वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार(इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार(निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार(ज्ञान उदास, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार(इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार(मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार(टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार(गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार(दामोदरप्रसाद दवाडी रहनु भएको छ ।

Facebook Comments