२०८३ कार्तिक १९, बिहीवार

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत   

दक्षिण क्यारोलिनाकी डेमोक्र्याटिक सिनेटर उम्मेदवार डा. एनी एन्ड्रयूजका समर्थकहरू, सन् २०२६ नोभेम्बर ३, मंगलबारका दिन दक्षिण क्यारोलिनाको चार्ल्सटनमा आयोजित निर्वाचन नतिजा हेर्ने कार्यक्रमका क्रममा खुसीयाली मनाउँदै। (एपी तस्बिर/माइक स्मिथ)

       

वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उहाँको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखिएको छ ।

जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ । ट्रम्पले परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गर्नुभएको छ । तर, रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्नुभएको छ ।

डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गर्नुभएको छ भने जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ ।

दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । प्रतिनिधिसभाका नेता हाकिम जेफ्रीज आगामी जनवरीमा पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावना छ ।

परिणाम स्वीकार गर्ने बताए पनि ट्रम्पले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गर्नुभएको छ । उहाँले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिनुभएको छ । यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने सङ्केत गरेको छ । एएफपी

Facebook Comments