२०८३ कार्तिक २, सोमवार

मेची-महाकाली श्रीमुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि, २३ दिनमा देशभरका धार्मिकस्थलको परिक्रमा

       
  • कात्तिक ८ देखि ३० गतेसम्म राष्ट्रव्यापी रथयात्रा ।
  • मुक्तिनाथबाट सुरु भई त्रिवेणीधाममा समापन हुने ।
  • धार्मिक पर्यटन, सनातन संस्कृति र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने लक्ष्य ।

 काठमाण्डू । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यले कात्तिक ८ देखि ३० गतेसम्म मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा-२०८३ सञ्चालन हुने भएको छ ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने जनाइएको छ ।

मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमा देशविदेशमा फैलाउन सहयोग पुग्ने बताउनुभयो । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थस्थलबीचको सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा योगदान पुग्ने उहाँको भनाइ छ ।

रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई थप बलियो बनाउने पनि उहाँले बताउनुभयो ।

सार्वजनिक कार्यतालिकाअनुसार रथयात्रा कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुनेछ । जोमसोम र गलेश्वर हुँदै बेनीको कुन्डुलेफेदीमा पहिलो दिनको रात्रि विश्राम गरिनेछ ।

कात्तिक ९ गते पञ्चकोट, बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी रामघाटस्थित श्रीमुक्तिनाथ सनातन सेवाश्रममा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।

कात्तिक १० गते पोखराबाट दमौली, डुम्रे, मुग्लिन, धादिङ, थानकोट, कलङ्की, स्वयम्भू, बालाजु र चक्रपथ हुँदै काठमाडौँको गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुग्नेछ । कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी भक्तपुरस्थित श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाममा रात्रि विश्राम गरिनेछ ।

कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल, भकुण्डेबेँसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्रा कात्तिक १३ गते भीमान, कटारी, गाईघाट र बराहक्षेत्र हुँदै चतराधामस्थित श्रीमुक्तिनाथ मन्दिर पुग्नेछ ।

कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक १५ गते झापाका विभिन्न धार्मिकस्थल र सहर हुँदै काँकडभिट्टा पुगेर माइधारस्थित श्रीयोगीराज कमलनयनाचार्य आश्रममा रात्रि विश्राम गरिनेछ ।

कात्तिक १६ गते माइधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर, दुहबी, इटहरी, लहान र धनुषा हुँदै जनकपुरधाम पुग्ने रथयात्रा कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर, लालबन्दी, बर्दिवास, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरा पुग्नेछ ।

कात्तिक १९ गते सिमराबाट पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी चिसापानीस्थित श्रीकस्तुरी रङ्गनाथ मन्दिरमा रात्रि विश्राम गरिनेछ । कात्तिक २० गते मनहरी, वसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गर्ने कार्यक्रम छ ।

कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, भेडाबारी, फूलबास, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गरिनेछ ।

कात्तिक २२ गते बर्दघाट, भुताहा, भूमही, सुनवल र बुटवल हुँदै रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर, चन्द्रौटा, मालुवाङ, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ ।

कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गरिनेछ । कात्तिक २५ गते पुनर्वास हुँदै महेन्द्रनगरस्थित श्रीराधाकृष्ण मन्दिर पुग्ने रथयात्रा कात्तिक २६ गते भलारी र अत्तरिया हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिर पुग्नेछ ।

कात्तिक २७ गते धनगढी, हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ । कात्तिक २८ गते सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिर पुग्ने रथयात्रा कात्तिक २९ गते घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुग्नेछ ।

रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा समापन गरिनेछ ।

श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मङ्सिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३’ आयोजना हुने कार्यक्रमसमेत रहेको छ । रासस

Facebook Comments