Sun. May 19th, 2024

संवैधानिक परिषदको नियुक्ति सिफारिस सभामुख सापकोटाद्वारा फिर्ता

काठमाडौं, २०७७ माघ १८ गते आईतबार

सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायमा सिफारिस गरेको नियुक्तिको सिफारिस फिर्ता गर्नुभएको छ । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि संसदीय सुनुवाई गर्ने अवस्था नरहेको भन्दै सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएको बताउनुभएको हाे ।

सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरी संवैधानिक निकायका विभिन्न पदमा नियुक्ती सिफारिस गरेको थियो । संवैधानिक परिषदको सो बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाको अनुपस्थित रहनुभएको थियो ।

प्रधानमन्त्री संयोजक रहनुभएको संवैधानिक परिषदमा प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्षसहित पाँच जना रहने व्यवस्था छ । सभामुखले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सर्वोच्च अदालत, राष्ट्रियसभाका अध्यक्षको कार्यालय र प्रमुख प्रतिपक्षीदलको कार्यालयलाई बोधार्थसहितको नेपाल सरकार तथा मन्त्रिपरिषदको कार्यालयका मुख्यसचिवलाई सम्बोधन गरेर पत्र फिर्ता पठाउनुभएको छ ।

परिषदले अख्तियार अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिबासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा रिक्त पदाधिकारी तथा सदस्य पदमा नियुक्तिको सिफारिस गरेको थियो । गोरखापत्र

Facebook Comments