२०८३ आश्विन ९, शुक्रवार

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

इन्द्रजात्रा अवलोकन गर्दै राष्ट्रपति पौडेलसहितका विशिष्ट अतिथिहरू काठमाडौँ, ९ असोज : काठमाडौँँको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राको अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कार्यवाहक प्रधानमन्त्री तथा अन्य विशिष्ट अतिथिहरू । तस्बिर : प्रदीप राज वन्त / रासस

       
  • राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा इन्द्रजात्रा अवलोकन ।
  • राष्ट्रपतिसहित विशिष्ट अतिथि पैदल गद्दी बैठक पुगे ।
  • असोज १३ गते इन्द्रध्वज पातनसँगै इन्द्रजात्रा समापन हुने ।

 काठमाण्डू । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेल जुद्ध सालिकमा गाडीबाट झरेर त्यहाँबाट पैदल गद्दी बैठक पुग्नुभएको हो । इन्द्रजात्रा अवलोकनका लागि राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गद्दी बैठक जाने क्रम तीन वर्षअघिदेखि सुरु भएको हो । यसअघि राष्ट्रपति तथा राजा गद्दी बैठकअघिसम्म गाडीमै जाने गर्नुभएको थियो ।

जात्रा अवलोकनका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, संवैधानिक निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि पैदल गद्दी बैठक पुग्नुभएको थियो ।

आगन्तुक विशिष्ट अतिथिलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डन, प्रशासक शैलेशराज कुँवर तथा महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुष्पगुच्छासहित वसन्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई रथयात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा गरिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले जानकारी दिनुभयो । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिनेछ ।

असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गर्नेछन् । सोही दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार पुगेर कुमारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुहुनेछ । टीका तथा प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १३ गते राति ९ः२५ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समापन हुनेछ । पातनपछि इन्द्रजात्राको लिङ्गो टेकु दोभानस्थित वाग्मती किनारमा लगेर सेलाउने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि इन्द्रजात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान र लिङ्गो नगर प्रवेशलगायतका विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ भने रथयात्राको चलन राजा गुणकामदेवले सुरु गर्नुभएको मानिन्छ । उपत्यकामा मनाइने जात्रामध्ये इन्द्रजात्रा लामो जात्राका रूपमा परिचित छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दशावतार नाच, महाकाली नाच, रामचन्द्र नाच र पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी तथा नाचगान प्रस्तुत गरिन्छ । इन्द्रजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ । रासस

Facebook Comments