२०८३ आश्विन ९, शुक्रवार

रूसी संसद्को तल्लो सदन ड्यूमामा सत्तारूढ युनाइटेड रसियाको बहुमत

       
  • युनाइटेड रसियाले ड्यूमामा ३४९ सिट जित्यो ।
  • ४५० सदस्यीय ड्यूमामा सत्तारूढ दलको संवैधानिक बहुमत ।
  • निर्वाचनमा ५९.८ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ ।

मस्को । रूसको ड्यूमा (संसद्) का लागि भएको नवौँ संसदीय निर्वाचनमा सत्तारूढ युनाइटेड रसिया पार्टीले ३४९ सिट जितेर ‘संवैधानिक बहुमत’ कायम गरेको रूसी केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एल्ला पाम्फिलोभाले शुक्रबार घोषणा गर्नुभएको छ ।

रूसको ड्यूमा ४५० सदस्यीय स्थायी विधायिकी निकाय हो । पाम्फिलोभाका अनुसार तल्लो सदनमा छ वटा दलका प्रतिनिधि र चार स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

सीईसीका अनुसार युनाइटेड रसियाले ३४९, रूसी कम्युनिस्ट पार्टीले ३७, लिबरल डेमोक्रेटिक पार्टी अफ रसियाले २३, न्यू पिपुलले १९, ‘अ जस्ट रसिया’ले १७ र रोडिनाले एक सिट जितेका छन् । बाँकी चार सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पाम्फिलोभाले सेप्टेम्बर १८-२० मा भएको ड्यूमा निर्वाचनमा ५९.८ प्रतिशत मतदान भएको बताउनुभयो । यो सन् २०२१ को निर्वाचनमा भएको ५१.७२ प्रतिशत मतदानभन्दा बढी हो ।

ड्यूमामा सिट बाँडफाँड परम्परागत निर्वाचन प्रणालीअनुसार हुने गर्छ । पाँच प्रतिशतको सीमा पार गर्ने दललाई प्राप्त मतका आधारमा कुल ४५० मध्ये २२५ सिट पार्टी सूचीमार्फत समानुपातिक रूपमा बाँडिन्छ भने बाँकी २२५ सिट देशभरका निर्वाचन क्षेत्रबाट सापेक्ष बहुमत मतदान प्रणालीअन्तर्गत निर्वाचित हुन्छन् । सिन्ह्वा

Facebook Comments