Wed. May 15th, 2024

भाषा, संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री पौडेल

काठमाडौं, २०७७ माघ १६ गते शुक्रबार

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै जातजातिको भाषा, संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

किराँत देवास राई उत्थान समाज नेपालको आयोजनामा देवास राई भाषासँग सम्बन्धित देवास राई कृति सङालो र देवास राई लेखन शैली नामक २ वटा पुस्तकको शुक्रवार हेटौँडामा विमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विविध जातजाति, भाषा संस्कृति, परम्परा नै नेपालीको पहिचान भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले हरेक जातजातिको कला, भाषा, संस्कृति, परम्पराको संरक्षणमा उक्त जातजातिले भूमिका देखाउनुपर्ने भन्दै यसमा सरकारको सहयोग रहने बताउनुभयो । उहाँले राई जातिको रहनसहन, भेसभुसा, कला संस्कृतिलाई बचाइ राख्न र सबैलाई चिनाउने हिसाबले सङ्ग्रहालय निर्माणका लागि आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।

नेपालका ९ जिल्लामा २९ वटा भाषिक राईमध्ये किराँत देवास जात पनि एक रहेको किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय सदस्य प्रमोद कुमार राईले बताउनुभयो ।

पुस्तकमा १२० जनाद्वारा रचित साहित्यिक लेख रचना र राई जातीको वर्णमालासहित देवास राई शब्द र नेपाली शब्दहरूको सङालो समेटिएको छ ।

किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद प्रह्लाद लामिछाने, वाग्मती प्रदेशका पत्रकार महासङ्घ अध्यक्ष प्रताप विष्ट, शङ्कर राई, शेर बहादुर पहरीलगायत समाजका केन्द्रीय सदस्यहरु र जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । रेडियो नेपाल

Facebook Comments