Sat. May 18th, 2024

कम्युनिस्टको राष्ट्रवादी टोपी कालापानीमा खस्यो : देउवा

धरान, २०७६ मंसिर १० गते मंगलबार ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक आयोगलाई खेलौना बनाउन खोजेको आरोप लगाउनु भएको छ । धरानको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले, प्रधानमन्त्री केपी ओलीले एदकलीय व्यवस्था लाद्न खोजेको भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

‘स्वतन्त्र न्यायलयलाई सीमित व्यक्तिको घेरामा राख्न खोजिएको छ,’ उहाँले भन्नु भयो । अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार प्रधानमन्त्रीलाई शक्तिको उन्माद जागेको भन्दै देउवाले अख्तियारलाई ‘ब्ल्याकमेल आयोग’ बनाउन खोजिएको समेत आरोप लगाउनु भयो ।

देउवाले सीमित व्यक्तिको घेराभित्र मात्र संवैधानिक परिषद् राखेर शाही आयोग जस्तो बनाएर जनतालाई ब्ल्याकमेल गर्न खोजेको कुरा काँग्रेसले नमान्ने उहाँले बताउनु भयो । कालापानीमा भारतीय सेना राखेको बारे सर्वदलीय बैठकमा बोलाएर राय दिइएको बारेमा पनि प्रधानमन्त्री बोल्न नसकेको आरोप उहाँको थियो । उहाँले कम्युनिस्टको राष्ट्रवादको टोपी कालापानीमा झरेको टिप्पणी समेत गर्नुभयो ।

देशको भूमि कुनै पनि हालतमा सुम्पन नसकिने भन्दै स्पष्ट अडानका साथ भूमि फिर्ताको लागि पहल गर्न देउवाले माग गर्नुभयो । सभामा नेताहरु विमलेन्द्र निधि, रामशरण महत, महेश आचार्य, गगन थापा, डिला संग्रौला लगायतले बोल्नु भएको थियो ।

Facebook Comments