२०८३ भाद्र २६, शुक्रवार

ब्रिक्स शिखर सम्मेलनका कारण दिल्लीमा ट्राफिक कडाइ

बिहीबार, १० सेप्टेम्बर २०२६ मा भारतको नयाँ दिल्लीमा ब्रिक्स (BRICS) शिखर सम्मेलनको स्थल 'भारत मण्डपम्' बाहिर दिल्ली प्रहरीका जवानहरू पहरा दिँदै। (एपी फोटो/मनीष स्वरूप)

       
  • कडा सुरक्षा व्यवस्थाले दिल्लीका बासिन्दाको दैनिक आवागमन प्रभावित ।
  • प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध ।
  • सार्वजनिक बिदा दिइए पनि न्यून आय भएका वर्ग बढी प्रभावित ।

नयाँदिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ । प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले आवागमन सहज बनाउन सार्वजनिक बिदासमेत दिएको छ ।

सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि ट्राफिक प्रतिबन्धले समस्या थपेको छ । सडक बन्द तथा मार्ग परिवर्तनका कारण छोटो दूरीको यात्रा पनि लामो बनेको र कतिपय क्षेत्रमा ट्याक्सी भाडा बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

अटोरिक्सा चालक नीरज कुमारले प्रतिबन्धको सबैभन्दा ठूलो असर न्यून आय भएका मानिसलाई परेको बताउनुभयो । “यदि एक किलोमिटरको यात्रा आठ किलोमिटरको चक्करमा परिणत भयो भने हामीले के गर्नुपर्छ ?” उहाँले प्रश्न गर्नुभयो । विदेशी प्रतिनिधिका लागि सुरक्षा व्यवस्था गर्दा त्यसको भार सर्वसाधारणमाथि पर्न नहुने उहाँको भनाइ थियो ।

डेलिभरी चालक मोहम्मद एलियासले प्रतिबन्धका कारण काममा पुग्नै कठिन भएको बताउनुभयो । “हामी काममा पुग्यौँ भने पनि ट्राफिकमा फस्नेछौँ । हामी काम गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।

ब्रिक्समा अहिले ११ देश सदस्य छन् । समूहले विश्वको करिब आधा जनसङ्ख्या तथा विश्वव्यापी ऊर्जा, स्रोत र आर्थिक उत्पादनको ठूलो हिस्सा प्रतिनिधित्व गर्छ । विकासोन्मुख देशहरूको भूमिका बढाउने उद्देश्यले ब्रिक्सले पश्चिमी नेतृत्वको विश्व व्यवस्थाको विकल्पका रूपमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । एपी

Facebook Comments