आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
भिओके समाचार/काठमाण्डू । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर आज कुशेऔँसी पर्व मनाउँदैछन्।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा ल्याएर राख्ने परम्परा छ। यसरी घरमा राखिएको कुशले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ।
पण्डित धरणीधर निरौलाका अनुसार आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न मिल्ने शास्त्रीय मान्यता छ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्दछन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीका साथै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको हो। त्यसैले आज घरघरमा भित्र्याइएको कुश वर्षभरि गरिने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।
पितृसम्मान दिवस
कुशेऔँसीका अवसरमा आज छोराछोरीले आफ्ना जीवित बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न पवित्र तीर्थस्थलमा गई बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ।
यस दिन विशेषगरी काठमाण्डूको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ। उत्तरगयाका रूपमा समेत परिचित गोकर्णेश्वरमा लाग्ने मेलाका कारण आजको औँसीलाई “गोकर्णेऔँसी” पनि भनिन्छ। यहाँ दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न श्रद्धालुको घुइँचो लाग्ने गर्दछ।
यस वर्ष मेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिनुभयो।
त्यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा मेला लाग्ने गर्दछ। बेत्रावतीमा दिवङ्गत बाबुको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न श्रद्धालु पुग्ने गर्छन्। तर यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण बेत्रावतीमा मेला लाग्ने वा नलाग्ने भन्ने विषय निश्चित भइसकेको छैन।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक आफ्नो रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिने गर्दछन्। बाबु परलोक भइसकेकाहरूले गोकर्ण वा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै कुल स्थिर हुने धार्मिक विश्वास रहेको छ।
धार्मिक ग्रन्थमा यस दिन गरिएको दानको विशेष महत्त्व रहेको उल्लेख पाइन्छ। थोरै दान गरे पनि त्यसबाट हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वासका कारण कुशेऔँसीलाई पुण्य पर्वका रूपमा लिइन्छ।

