२०८३ भाद्र २५, बिहीवार

उद्योगमन्त्री यादवद्वारा राजीनामा

       

भिओके समाचार/काठमाण्डू । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । ग्यास अभावका विषयमा संसदीय समितिमा दिएको विवादास्पद अभिव्यक्तिपछि आलोचनामा तानिनुभएकी मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो । उहाँको सचिवालय र सञ्चार संयोजक कमल चौलागाईंले राजीनामा बुझाएको पुष्टि गर्नुभएको छ ।

हिजो प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले बजारमा देखिएको ग्यास अभावका लागि ग्यास उद्योगीलाई जिम्मेवार ठहर गर्नुभएको थियो । उहाँले ग्यास उद्योगीको ‘पाता नकसेसम्म’ ग्यास आपूर्ति सहज नहुने अभिव्यक्ति दिनुभएको थियो ।

मन्त्री यादवले देशमा सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको धारणा समेत राख्नुभएको थियो । साथै, कर्मचारीले आफूलाई असहयोग गरेको र उद्योगीको प्रभावमा काम गर्ने गरेको आरोप पनि उहाँले लगाउनुभएको थियो ।

उहाँको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासङ्घ, ग्यास उद्योगी तथा उद्यमी व्यवसायीले आपत्र् िजनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । यता, काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ता सिलिन्डरका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन् ।

नियमित आपूर्तिको तथ्यांक सार्वजनिक भइरहे पनि बजारमा सहज रूपमा ग्यास उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ । गत चैत २७ गते उद्योगमन्त्री नियुक्त हुनुभएकी यादवले संसदीय समितिमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै पदबाट राजीनामा दिनुभएको हो ।

Facebook Comments