Thu. May 2nd, 2024

बीपी राजमार्ग पुनः निर्माणपछि नेपाललाई हस्तान्तरण

काठमाडौं, २०७७ माघ १५ गते बिहीबार

 जापान सरकारले निर्माण गरेको बीपी राजमार्ग पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत जापान सरकारले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । भूकम्पपछि पुनःनिर्माण गरिएको बीपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान सरकार पुरानो साझेदार रहेको बताउनुभयो ।

नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको मन्त्री नेम्वाङले बताउनुभयो । नेपालको विकासमा जापान सरकारको सहयोगको प्रशंसायोग्य रहेको उहाँले चर्चा गर्नुभयो । “नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापान सरकारको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु” मन्त्री नेम्वाङले भन्नुभयो । नेपालको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न नेपालका लागि जापानी राजदूत मासामिची साइगोको साथ र समन्वयको समेत मन्त्री नेम्वाङले प्रसंशा गर्नुभयो ।

त्यस्तै, जापानी राजदूत मासामिची साइगोले नेपाल र जापान सरकारबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ निरन्तर रहने बताउनुभयो । संघीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बीपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो ।

भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो । बीपी राजमार्गको पुनःनिर्माण सन् २०१९ जुलाई ३ मा जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न गरी जापानले हस्तान्तरण गरेको हो । पुनः निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्राविधिक जापानबाट नै ल्याइएकाे थियाे । रेडियो नेपाल

Facebook Comments