Wed. Apr 24th, 2024

काेराेनाविरुद्धकाे खाेप अभियान

- पहिलाे दिन नाै हजारभन्दा धेरैले लगाए काेराेना खाेप

काठमाडौं, २०७७ माघ १४ गते बुधबार

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार खोप लगाउनेमध्ये प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना, वाग्मती प्रदेशमा दुई हजार छ सय ९४ जना र गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णालीमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । ७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारले जनाएको छ ।

पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्राे डोज खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

खोप अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई नयाँ चरणमा उठाएकाे बताउनुभयो । अब कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण चरणमा पुगेको भन्दै उहाँले तीन महिनाभित्र खोप लगाउन योग्य सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने दाबी पनि गर्नुभयो ।

उहाँले कोरोनाविरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने भन्दै सरकारले सबैलाई निःशुल्क उपलब्ध गराउने बताउनुभयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्रतिमा रहि सेवा प्रदान गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ । कोरोनाविरूद्धको खोप शुभारम्भका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले  विश्वका सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्ट मान्यता रहेको बताउनुभयो । उज्यालो अनलाईन

Facebook Comments