Sun. May 19th, 2024

राजधानीमा प्रतिनिधी सभा विघटन विरुद्ध दाहाल-नेपाल समूहको विशाल प्रदर्शन

काठमाडौं, २०७७ माघ ९ गते शुक्रबार

राजधानीमा प्रतिनिधी सभा विघटन विरुद्ध दाहाल-नेपाल समूहले शुक्रबार विशाल विरोध प्रदर्शनको आयोजना गरेको छ ।

सो सभालाई सम्बोधन गर्नुहुँदै नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओली हिटलरको बाटोमा हिँडेको बताउनु भएको छ ।

ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै नपालले ओलीको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताउनु भयो।

विरोध सभामा बोल्दै नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीले पार्टीको विधान नमान्ने, पार्टीभित्रका सहमति नमान्ने मात्रै नभइ देशको संविधान नै नमान्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै नमान्ने र विध्वंसतिर जाने काम गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले ओलीलाई मात्रै दोष दिएर आफूहरु चोखो नरहने भन्दै अब केपी प्रवृत्तिप्रति उदार भएर त्यस्ता काम गर्न दिने भूल आफूहरुले नगर्ने कार्यकर्तामाझ प्रतिबद्धता र संकल्प गर्नुभयो । साथै दाहालले आफूहरुको उदारतालाई ओलीले कमजोरी ठानेर दुस्साहस गरेकोले आफूहरु जनतामा आउनु परेको बताउनु भयो ।

दाहाल-नेपाल समुहको नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताउनु भयो ।

Facebook Comments