Sun. May 19th, 2024

भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

काठमाडौं, २०७७ माघ ७ गते बुधबार

भारत सरकारले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभयो । भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले उपलब्ध खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापन तथा सरसफाइमा कार्यरत कर्मचारी लगायतलाई उपलब्ध हुने बताउनुभयो ।

मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप खरिद तथा प्रयोगका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा भइसकेको र खोप प्राप्त भएपछि तुरुन्तै खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

मन्त्री त्रिपाठीले नेपाल सरकारले कूल जनसङ्ख्याको करिब ७२ प्रतिशत जनसङ्ख्यालाई खोपयोग्य जनसङ्ख्याको रूपमा पहिचान गरी आवश्यक खोप खरिद गर्ने तयारी गरिरहेको र खरिद प्रक्रिया छिट्टै सुरु हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको लडाई जित्नका लागि सबै राष्ट्रहरूबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य  आवश्यक रहेको बताउनुभयो ।

राजदूत क्वात्राले कोरोना महामारीको सुरुवात देखिनै नेपाल र भारतबीच आवश्यक सहयोग एवं सहकार्य हुँदै आएको र महामारीको अन्त्य सम्म सहकार्य जारी रहने बताउनुभयो ।

Facebook Comments