संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
काठमाण्डू । सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन र विधि र प्रक्रियाको उच्चपालना गरी कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाइने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उहाँले सदनबाट छिटो कानुन निर्माण हुनसके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
सभामुख अर्यालले भन्नुभयो, “कानुन निर्माणमा ढिलाइ हुँदा समाजलाई ठूलो असर पार्ने र त्यसको असर सोचेभन्दा फरक आउन सक्छ भन्ने पाटोलाई ध्यान दिनुपर्छ ।” समाज निर्माणमा सबै क्षेत्रको उत्तिकै भूमिका हुने बताउँदै उहाँले राम्रा नजिर र असल अभ्यासलाई आत्मसात गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सभामुखले भन्नुभयो, “म व्यक्ति नभई इन्ष्टिच्युसनको नेतृत्व गरिरहेको छु । स्वदेशमा मात्र होइन विदेशबाट हेर्दा पनि सम्मान होस् । आफ्नो मूल्यमान्यतामा बसिरहोस् । नचुकोस् भन्ने मेरो मान्यता रहन्छ ।”
संसद्बाट नेपाली जनताले गरेको अपेक्षाभन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्दै सभामुख अर्यालले कार्यसम्पादनका सिलसिलामा भएका र देखिएका कमीकमजोरी औँल्याइदिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
“जेनजी आन्दोलन, जनताको चेतना, वर्तमान परिदृश्य, निर्वाचनपछि गठनभएको सरकार र जनअपेक्षाजस्ता कुराहरुबीच कहीन काही सम्बन्ध जोडिएका पक्षमा ध्यान पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो । रासस

