Wed. May 1st, 2024

खोप उपलब्ध गराउन सहमत, सीमा बारे छलफल

- नेपाल-भारत संयुक्त आयोगको बैठकमा आज के भयो ?

काठमाडौं, २०७७ माघ २ गते शुक्रबार

 भारतले कोभिड-१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भारतमा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपालले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन गरेको आग्रह स्वीकार गर्दै भारतीय पक्षले कोभिड विरुद्धको खोप आउनासाथ नेपालको आवश्यकता अनुसार प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

बैठकमा कोभिड महामारीका समयमा पनि दुई देशले घनिष्ट सहकार्य गरेर त्यसबाट आएका चुनौतीको सामना गरेको भन्दै सराहना एअर्काको सराहना गरिएको थियो । नेपाली प्रतिनिधिमण्डलले कोभिड महामारीका समयमा भारत सरकारले आवश्यक औषधि तथा मेडीकल उपकरण सहयोग गरेकामा धन्यवाद प्रकट गरेको थियो । बैठकको औपचारिक खण्डमा द्विपक्षीय हित र सम्बन्धको बहुआयामिक पक्षमा दुई देशले आत्मसमीक्षा गर्यो । नयाँदिल्ली स्थित हैदरावाद हाउसमा भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्री डा.सुब्रमन्यम जयशंकरले गर्नुभयो ।

बैठकमा सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यस बैठकले दुई देशबीच कायम सम्बन्धको सबै आयाममा छलफल गर्ने म्याण्डेट रहेको औँल्याउनुभयो । निरन्तरको संवाद र आपसी समझदारीमा नै दुई देशको सम्बन्धको जग रहेको उहाँले प्रष्ट पार्नुभयो । जसमा दुई देशका प्रधानमन्त्रीबीच रही आएको प्रगाढ सम्बन्ध र आपसी संवादले दुई देशको सम्बन्धमा थप उचाई थपेको मन्त्री ज्ञवालीले बैठकमा बताउनुभएको थियो ।

बैठकको सुरुवातमा स्वागत मन्तब्य राख्नुहुँदै भारतीय विदेशमन्त्री एस.जयशंकरले दुई देशको सम्बन्ध थप सुदृढ बनाउन आयोगको बैठकले भूमिका खेल्ने बताउनुभयो । उहाँले अघिल्लो बर्ष नेपालमा भएको बैठकको स्मरण गर्नुहुादै नेपालको आतिथ्यताको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । दुई देशबीचको पुरानो सम्बन्ध सामाजिक सभ्यतासँगै दुई देशको रहनसहन र संस्कृतिसँग जोडिएर रहेको उहाँले बताउनभयो । अनौपचारिक रुपमा बैठक बिहीबार सुरु भएको थियो ।
पञ्चेश्वर परियोजनाको डिपिआरलाई अन्तिम रुप दिन सहमति
शुक्रबारको बैठकपश्चात जारी वक्तव्य अनुसार संयुक्त आयोगको बैठकमा दुबैपक्षले द्विपक्षीय सम्बन्धका समग्र आयाममा दुबै पक्षले आफ्ना आफ्नो समीक्षा प्रस्तुत गर्यो । जसका मुख्य रुपमा भारतमा उत्पादित कोभिड–१९ खोप, सीमा नक्साङकन तथा सीमा व्यवस्थापन, दुई देशीय सम्पर्क सञ्जाल, आर्थिक साझेदरी, व्यापार पारबहन, उर्जा तथा जलस्रोत, संस्कृति र शिक्षाका विविध क्षेत्रमा भएका प्रगति र थाँती रहेका बिषयमाथि गहन छलफल भएको छ ।

बैठकले शान्ति र मैत्री सन्धी १९५० को सम्बन्धमा समीक्षा गरेको छ । साथै प्रवुद्ध व्यक्ति समुहको प्रतिबेदन बुझाउन पहल गर्ने र नयाँ हवाई रुटका बारेमा पनि थप छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

दुई देशका मन्त्रीले सीमापार पूर्वाधार निर्माण तथा सम्पर्क सञ्जाल विस्तार, बलियो बनेको विकास साझेदारी, कार्यान्वयमा रहेको परियोजनाका सम्बनधमा सफलता प्राप्त भएकामा सन्तुष्टी व्यक्त गर्नुभयो । जसमा पहिलो सीमापार नेपालभारत पेट्रोलियम पाइपलाइन, सीमा क्षेत्रमा एकिकृत चेकपोष्ट, रेल्वेलिंक, उर्जा ट्रान्समिसन लाइन, सडकको स्तरोन्नती, पुलनिर्माण लगायत रहेका छन् ।

बैठकले दुईदेशले योजनाबद्ध ढंगका अघि बढाइरहेका द्विपरियोजनालाई गतिदिने बिषयमा सहमति जनाएको छ । जस अन्तर्गत दोधारा चाँदनीमा नयाँ एकिकृत चेकपोष्ट, भन्सारचेकपोष्ट निर्माण, बाँकी सीमापार रेल्वेसेवा, सडक निर्माण, ट्रान्समिसन लाइन लगायत अन्य रहेका छन् ।

बैठकले दुईपक्षीय व्यापार सन्धीका बारेमा पनि समिक्षा गरेको छ । साथै पारबहन र रेल्वे सेवाका बिषयमा पनि थप छलफल गरेर अघि बढ्न सकिने मार्गदर्शन प्रदान गरेको छ । दुबै पक्षले व्यापार सन्धी, पाबहन सन्धीको पुनरावलोकन गर्न सहमति जनाएको छ । त्यस्तै सेल्वे सेवा सम्बन्धि सम्झौतामा संसोधन गरेर दुईपक्षीय सहकार्य बलियो बनाउने बिषयमा पनि बैठकमा सहमति भएको छ । जलसम्पर्क विस्तारका लागि आवश्यक प्रगति भएको भन्दै यस बिषयमा पनि थप छलफल गरेर अघि बढ्न दुई देशका उच्चाधिकारी सहमत भएका छन् ।
बैठकले ४०० केभी बुटवल-गोरखपुर सीमापार ट्रान्समिसन लाइन विस्तारका लागि सहमति व्यक्त गरेको छ ।

पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको महत्वलाई ध्यानमा राख्दै यसबारेमा सचिवस्तरीय रुपमा दिल्लीमा सकारात्मक बहस भएकोमा सराहना गरिएको थियो । पञ्चेश्वरको डिपीआर निर्माणलाई अन्तिम रुप दिन आयोगको बैठकमा दुबैपक्षले सहमति जनाएको छ । त्यस्तै सीमा क्षेत्रमा बस्ने दुबै देशका जनताले खेप्नु परेको समस्याका बारेमा समेत छलफल गरेको छ । तटबन्ध नहुँदा बाढीको असरले उनीहरु प्रभावित भइरहेकाले त्यसको समाधानका लागि थप पहल गर्ने बिषयमा दुबैपक्ष संवेदनशिल रहेको जनाएको छ ।
सीमा विवादमा थप छलफल गरिने
बैठकमा सीमा विवादका बिषयमा पनि गहन छलफल भएको छ । साथै बैठकले छिट्टै नै सीमाका बिषयमा थप छलफल हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपालले प्राथमिकतामा राखेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सीमा विवादको बिषयलाई समाधानको बाटोमा लैजानका लागि बैठकले नयाँ मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । भारतीय पक्षले यस बिषयमा सकेसम्म बैठकमा छलफल र बहस नगर्ने संकेत यसअघि नै गरेको थियो । तर नेपालले प्रस्ताव गरेका सूचीमा रहेपछि यस बिषयमा पनि बैठकमा थप छलफल हुने क्रममा रहेको छ ।

बैठकमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल सहितका उच्चाधिकारी सहभागि रहनु भएको थियो ।

दुई मन्त्रीबीच भेटवार्ता
संयुक्त आयोगको बैठक औपचारिक रुपमा सुरुहुनु अघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरबीच छुट्टै द्विपक्षीय भेटवार्ता भयो । भेटमा भारतीय विदेशमन्त्रीले मन्त्री ज्ञवालीलाई न्यानो स्वागत गर्नुभएको थियो । भेटमा आफ्ना देशको वर्तमान स्थितीका बारेमा दुबैले आफ्ना धारणा साट्नुभएको थियो । साथै आगामि दिनमा दुई देशबीच हुनसक्ने सम्भावित सहकार्यका बारेमा पनि छलफल भएको थियो ।

आयोगको बैठकपछि मन्त्री ज्ञवाली विदेशमन्त्री जयशंकरले दिनुभएको दिवाभोजमा सहभागि हुनुभएको थियो । उहाँले दिल्लीमा रहँदा भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । सो भेटवार्तापछि उहाँ माघ तीनगते साँझ नेपाल फर्कनुहुनेछ । गोरखापत्र

Facebook Comments