Tue. May 21st, 2024

संसद विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै, आइतबारदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं, २०७७ माघ २ गते शुक्रबार

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमानै हुने भएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने मागसहित परेको रिट खारेज गर्दै सर्वोच्च अदालतले संवैधानिक इजलासमा नै निरन्तर सुनुवाइ गर्ने आदेश गरेको हो ।

आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरूले विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले सो आदेश गरेको हो ।

‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहद पूर्ण इजलासबाट सुनुवाइ गरी पाउँ’ भन्ने द.नं. ४४९९ मिति २०७७।९।२२ को निवेदन पेश भयो’, आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नु परेन। कानून बमोजिम गर्ने।’ साथै, प्रस्तुत रिट निवेदनहरू ४ माघमा हेर्दाहेर्दैको पेशी तोकी नियमानुसार पेश गर्ने आदेशमा उल्लेख छ ।

Facebook Comments