Fri. Sep 20th, 2024

ट्रम्पविरुद्ध मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’

काठमाडौं, २०७७ माघ २ गते शुक्रबार

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उहाँको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्‌मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ।

तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उहाँको भूमिकालाई लिएर उहाँले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहनु भएको छ ।

ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन्।

ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो।

बिबिसीका अनुसार हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३२ मत परेको थियो। गत साता क्यापिटल भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोपमा लगाइएको महाभियोगको विपक्षमा १९७ जना सांसद थिए।

सङ्घीय जाँच ब्यूरो एफबीआईले डेमोक्र्याट राष्ट्रपति निर्वाचित जो बाइडनको बुधवार हुने सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरूमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याएको छ।

रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसका उपराष्ट्रपतिकी छोरी नेत्री चेनीले महाभियोगको पक्षमा मतदान गरे लगत्तै उहाँको राजीनामा माग गरिएको थियो।

Facebook Comments