Sat. Apr 20th, 2024

आज माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाईदै

काठमाडौं, २०७७ माघ १ गते बिहीबार

सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले अबदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । सप्तकोशीको चतराधाम, वराहक्षेत्र, कोका, देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यि परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

यस्तै नुवाकोट र धादिङका विभिन्न स्थानमा संक्रान्तिका अवसरमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका-१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका-३ पिपलडाँडामा ८, लिखु गाउँपालिका-३ कट्टीछापमा ३, तादी गाउँपालिका-४ सातबिसेमा १०, शिवपुरी गाउँपालिका-५ शेराबगरको गैरीफाँटमा ५ हल गोरु आज जुधाउन लागिएको छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा सरकारले आज देशभरी सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments