Sun. May 19th, 2024

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूहरु आन्दोलनमा : प्रचण्ड

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

नेकपा (प्रचण्ड-माधव पक्षका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधिकारीक नेकपा प्रचण्ड-नेपाल नेतृत्वको पक्ष भएको बताउनुभएको छ । आफूहरुसँग स्पष्ट बहुमत भएकाले आधिकारिक आफूहरु नै भएको दाबी उहाँको छ ।

निर्वाचन आयोगले पनि सही निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूहरु आन्दोलनमा रहेको उहाँले चर्चा गर्नुभयो । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी बोध गर्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । आफ्नो पक्षको बुधबार काठमाडौंको कमलादीमा भएको कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले देशको लोकतन्त्र अहिले धरापमा परेको टिप्पणी गर्नुभयो । पार्टी एकताको प्रस्ताव लिएर आफू नै पहिले अध्यक्ष केपी शर्मा ओलीकहाँ गएकाले त्यतिबेला पार्टी एक भएको उहाँले चर्चा गर्नुभयो ।

पार्टी एकता गर्दा विचारमा संवेदनशीलता र गृहकार्य पर्याप्त गरिएको भपनि अहिले समस्या आएको अध्यक्ष प्रचण्डले चर्चा गर्नुभयो । शान्तिपूर्णरुपमा बहुदलीय प्रतिस्पर्धाको आधारमा समाजवादमा जाने विचार तय भएको उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवाद (जबज)को उच्च मूल्याङ्कन गर्दै ‘समाजवाद उन्मुख जनताको नौलो जनवाद’मा जाने तय भएको पनि उहाँले चर्चा गर्नुभयो ।

आफू नेतृत्वकै नेकपा आधिकारिक भएकाले भ्रममा नपर्न उहाँले कार्यकर्ता पङ्तिलाई आग्रह गर्नुभयो । अर्को समूहले आफू आधिकारिक भएको दावी गरे पनि त्यो ‘नौटङ्की’ मात्र भएको अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो । निर्वाचन आयोगले तथ्यअनुसार निर्णय लिने विश्वास आफूहरुलाई दिलाएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार पार्टीका नेताले काम गर्न दिएनन् भन्नु झुठ कुरा भएको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीमा विवाद हुनु सामान्य भएको बताउँदै अध्यक्ष प्रचण्डले विवाद बन्द भएका दिन पार्टीको नै अन्त्य हुने कुरा मार्क्सवादमा रहेको चर्चा गर्नुभयो ।

नेता माधवकुमार नेपालले आफ्नो पक्षमा विशाल कार्यकर्ताको साथ रहेको दावी गर्नुभयो । आफूहरु पद प्राप्तिका लागि नभई कर्तव्य निर्वाह गर्न मैदानमा उत्रेको चर्चा गर्नुभयो । आफूहरु सही बाटोमा रहेकाले अन्तिममा जीत आफ्नो समूहको हुने उहाँले बताउनुभयो । पार्टी फुट्न नदिन धेरै प्रयास गर्दा पनि केही नलागेको बताउँदै नेता नेपालले पार्टी विधि र सिद्धान्तमा नचले जहिले पनि समस्या आउने टिप्पणी गर्नुभयो । नेतृ अष्टलक्ष्मी शाक्यले काठमाडौं जागिसकेकाले आन्दोलन सफल नहुँदासम्म चुप नबस्ने बताउनुभयो । मुलुकको लोकतन्त्र र समावेशीताका लागि आफूहरु आन्दोलित भएको चर्चा गर्नुभयो ।

Facebook Comments