Sun. Sep 8th, 2024

‘प्रतिगमनविरुद्ध पत्रकारहरुको मोर्चाबन्दी आवश्यक’

काठमाडौं, २०७७ पुस २८ गते मंगलबार

विभिन्न संचारमाध्यम सम्बद्ध संघ-संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी भएको बताएका छन् ।

नीहरुले प्रधानमन्त्रीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार/सञ्चारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनु पर्ने बताए । आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका थिए ।

सोमबार राजधानीको संवाद डबलीमा आयोजित ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री केपी ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताउनु भयो ।

दाहालले भन्नुभयो, “प्रधानमन्त्रीको कदम एकात्मक सामन्ति प्रणालीतर्फ उन्मुख छ, त्यसलाई रोक्न मोर्चाबन्दी कसौं ।” दाहालले पत्रकार महासंघको भावी नेतृत्व साझा चरित्रको हुनुपर्ने र लोकतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मुल एजेण्डा बनाएर आन्दोलनमा होमिनु पर्ने सुझाब दिनुभयो ।

नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरु जहिलेपनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको महासंघको नेतृत्व साझा चरित्रको बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । “मुख्य कुरा गुम्न लागेको लोकतन्त्रको रक्षा गर्नु हो, यो साझा मुद्धामा युनियन सबै पत्रकारहरुसँग हातेमालो गर्न तयार छ” शिवाकोटीले भन्नुभयो ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले त्यसको विकल्पमा अग्रगामी एजेण्डा लिएर पत्रकारहरु आन्दोलित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रेस स्वतन्त्रको रक्षा, जनजिविकाको सुनिश्चितता र जनतामा आधारित गणतन्त्र प्राप्तिका लागि सबै तप्काले संयुक्त संघर्षको उठान गर्नुपर्ने बताउनु भयो ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले असफलसिद्ध संसदवादको विकल्प नखोजी पत्रकारहरुका आधारभूत समस्या हल नहुने र जनताका राजनीतिक तथा मौलिक अधिकारको ग्यारेण्टी नहुने भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको पूर्ण जनतान्त्रिक व्यवस्था स्थापनाका लागि पत्रकार, नागरिक समाज, बुद्धिजीवी आम नागरिक मिलेर संयुक्त आन्दोलनको उठान गर्नुपर्ने बताउनु भयो । पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले महासंघ श्रमजीवीहरुको आस्थाको केन्द्र र साझा चरित्रको बनाउन सबै पक्षले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रगतिशील पत्रकार संघका निवर्तमना अध्यक्ष नारायण शर्माले संकटको भूमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । पछिल्लो राजनीतिक संकट ठूलो डिजाइनबाट उत्पन्न भएको प्रष्ट्याउदै शर्माले संयुक्त दबाब सिर्जना गरेर लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न ठूला संगठनहरुले त्याग गर्दै सबैलाई समेटेर लैजाने दृढता देखाउन सुझाउनु भयो ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान ओली नेतृत्वले त्यही आधारलाई भत्काउदै जनताको स्वतन्त्रतामाथि धाबा बोल्नेतिर मुखरित भएकोले पत्रकार तथा संचार जगतले त्यसविरुद्ध लड्ने बेला आएको बताउनु भयो ।

मधेशी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंहले जनयुद्ध, जन-आन्दोलन तथा मधेश आन्दोलनबाट निर्माण भएको संघीयतालगायतका उपलब्धिहरुलाई उल्टाएर प्रतिगमन लाद्ने ओली सरकारलाई पत्रकार र आम जनसमुदाय मिलेर संयुक्त आन्दोलनको बलमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउनु भयो ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले वर्तमान राजनीतिक संकटलाई सम्पूर्ण लोकतान्त्रिक समुदायले अहिलेको अलोकतान्त्रिक सरकारको जनवीरोधी रबैयाको भण्डाफोर गर्नुपर्ने धारणा राख्नु भयो ।

सो कार्यक्रमको सञ्चालन संवाद डबलीका सचिव धनन्जय बुढाले गर्नुभएको थियो ।

Facebook Comments