Sat. Jul 27th, 2024

कोरोना खोप सबैलाई निःशुल्क: मन्त्री त्रिपाठी

काठमाडौं, २०७७ पुस २८ गते मंगलबार

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले सबैलाई निःशुल्क रुपमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने बताउनु भएको छ ।

कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना भैरहेको समयमा मन्त्री त्रिपाठीको सो भनाई आएको हो ।

‘खोप उपलब्ध भएको एक सातामै अभियानका रूपमा लगाउन सकिनेछ’, कार्यभार सम्हालेको दुई सातापछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भन्नुभयो, ‘मन्त्रालयका तीन वटामध्ये कोभिडविरुद्घको खोप ल्याउने पहिलो प्राथमिकता हो । खोप ल्याउने मिसनकै रूपमा सरकारले काम अघि बढाउनेछ ।’

हालसम्म सरकारले खोपको प्रि-बुकिङ गरेको छैन । तर उहाँले आमजनतालाई खोप आउनेमा ढुक्क रहन आग्रहसमेत गर्नुभयो । ‘त्यो पनि समयमै र पारदर्शी ढंगबाट ल्याइएको खोप सरकारले सबैलाई निःशुल्क रूपले लगाउन अभियान चलाउनेछ र खोपको वितरणसमेत न्यायपूर्ण ढंगबाट हुनेछ,’ मन्त्री त्रिपाठीले भन्नुभयो । कान्तिपुरका अनुसार उहाँले विभिन्न मुलुकसँग निकटतम् सम्बन्ध राखेर खोप ल्याइने र त्यसक्रममा रुस र भारतका राजदूतसँग कुराकानी भएको जानकारी दिनुभयो । सरकारले विभिन्न देशलाई कूटनीतिक नोट पठाए पनि खोप ल्याउन ठोस कदम भने चालेको छैन ।

Facebook Comments