Wed. May 6th, 2026

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा

       
इस्लामाबाद । पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबीच खुला युद्धको अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाउनुभयो । तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई ‘भारतको उपनिवेश’ बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र ‘आतङ्कवाद निर्यात’ सुरु गरिएको उहाँको दाबी थियो । “हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबीच खुला युद्ध छ”, उहाँले उल्लेख गर्नुभयो । उहाँका अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीहरूको तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
रक्षामन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्तिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो । पाकिस्तानी अधिकारीहरू र अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार यी आक्रमणहरू अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरिएको छ । केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्धविराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुनः चुलिएको देखिएको छ ।
दुवै देशले एकअर्कालाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र ‘धेरैलाई जीवितै नियन्त्रणमा लिइएको’ जनाएको छ । मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् । १९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार सुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ । एपी
Facebook Comments

सम्बन्धित समाचार