ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नुभएको छ । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उहाँको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ ।
काङ्ग्रेसको संयुक्त सत्रअघि बोल्दै राष्ट्रपति ट्रम्पले अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र मतदाताले रिपब्लिकनलाई समर्थन गरे अझ प्रगति हुने बताउनुभयो । “हाम्रो देश फेरि जित्दैछ”, उहाँले भन्नुभयो, “हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।”
भाषणमा उहाँले सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले वैकल्पिक कानूनी प्रावधान प्रयोग गरेर अगाडि बढ्ने सङ्केत गर्नुभयो । “काङ्ग्रेसको कार्य आवश्यक नपर्न सक्छ”, उहाँले भन्नुभयो । उहाँले उपभोक्ताले मूल्य चुकाउने आलोचनाबीच पनि शुल्क विदेशी देशले तिर्ने दाबी दोहोर्याउनुभयो ।
सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश काङ्ग्रेसको संयुक्त सत्रमा भइरहेको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमै उपस्थित हुनुहुन्थ्यो । भाषण चलिरहेकै बेला शुल्कसम्बन्धी निर्णयको प्रसङ्ग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो । क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला रूपमा आलोचना गर्नुभयो भने अल ग्रीनलाई सम्बोधन सुरु भएको केहीबेरमै विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो ।
राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै ‘अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा’ गर्नुपर्ने बताउनुभयो । उहाँले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सार्नुभयो । तर जीवनयापनको बढ्दो लागत र अर्थतन्त्रको सुस्त वृद्धि जस्ता विषयले अपेक्षाकृत कम समय पाए । उच्च मूल्य र स्वास्थ्य खर्चबारे डेमोक्रेटलाई दोष दिँदै उहाँले ‘त्यो समस्या तपाईँहरूले सिर्जना गर्नुभयो’ भन्नुभयो ।
भाषणका भावनात्मक क्षणहरूमा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो । गोलकिपर कनर हेलेब्यूकलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम दिने घोषणा र नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई पर्पल हार्ट प्रदान गरिँदा दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए । सन् २०२० मा रेडियो होस्ट रस लिम्बगलाई दिइएको सम्मानको स्मरण पनि गराइयो ।
विदेश नीतिमा राष्ट्रपति ट्रम्पले इरानलाई ‘आणविक हतियार कहिल्यै राख्न नदिने’ चेतावनी दोहोर्याउनुभयो । मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको पृष्ठभूमिमा उहाँले कूटनीतिक समाधान प्राथमिकता रहेको तर आवश्यक परे कठोर कदम चाल्ने बताउनुभयो । उहाँले तेहरानमाथिको हवाई आक्रमण र भेनेजुएलामा निकोलस मदुरोलाई अपदस्थ गरिएको कारबाहीको प्रशंसा गर्नुभयो ।
डेमोक्रेटिक प्रतिक्रिया दिँदै भर्जिनियाकी गभर्नर एबिगेल स्प्यानबर्गरले शुल्क नीति, आप्रवासन कदम र सङ्घीय खर्च कटौतीको आलोचना गर्नुभयो । “सर्वोच्च अदालतले शुल्क खारेज गरे पनि क्षति भइसकेको छ”, उहाँले भन्नुभयो ।
मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको यो लामो सम्बोधनले राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश स्पष्ट बनाएको छ—उहाँ उपलब्धि प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउन चाहनुहुन्छ, तर कङ्ग्रेसभित्रको विभाजन र आर्थिक चिन्ताले त्यसलाई चुनौती दिइरहेको छ । एपी
Facebook Comments

