Fri. May 3rd, 2024

वाग्मतीको मुहान क्षेत्रमा ४०० माछाका भुरा छाडियो

काठमाडौं, २०७७ पुस २५ गते शनिबार

वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताका अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई नजिकको वाग्मती नदी किनारमा आज ४०० माछाका भुरा छाडिएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना लगायत अभियानकर्मीले शहर र गर्दी जातिका ४०० माछाका भुरा छाड्नुभएको हो ।

त्यस अवसरमा राज्यमन्त्री मानन्धरले राजधानीको सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती नदी र यसका किनारका धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबै तहका सरकार एवं स्थानीयवासीको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

राज्यमन्त्री मानन्धरले गोकर्णेश्वर महादेव मन्दिरको संरक्षण गर्न सरकारका तर्फबाट आवश्यक सहयोग गरिने उहाँको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथ, सम्पदास्थल लगायत सार्वजनिक स्थानमा सफाइ अभियान चलेको छ । रेडियो नेपाल

Facebook Comments