Sun. May 19th, 2024

विद्युतीय धरापमा परेर सप्तरीमा हात्तीको मृत्यु

काठमाडौं, २०७७ पुस २५ गते शनिबार

करिब डेढ महिनाको फरकमा सप्तरीमा दुई बटा हात्तीको करेण्ट लागेर मृत्यु भएको छ ।

चार महिनादेखि ६ बटा हात्तीको समूहले आतंक मचाई रहेको सप्तरीको खडक नगरपालिकामा ४ मा शनिबार बिहान एउटा हात्तीको करेण्ट लागेर मृत्यु भएको छ।

हात्तीको आतंकविरुद्ध गहुँबाली जोगाउँ खडक नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो ।

हात्तीको विद्युतीय धरापमा परी मृत्यु भएको जानकारी वन डिभिजन कार्यालयलाई गराइसकिएको साहले बताउनुभयो ।बाँकी अनुसन्धान वन कार्यालयले नै गरिरहेको उहाँले बताउनुभयो। दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाएका थिए । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ ।

यसअघि मंसिर ८ गते सप्तरीकै कञ्चनरुप नगरपालिकामा एउटा दाह्रे हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो । नगरपालिकाको वडा नम्बर ५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो । गोरखापत्र

Facebook Comments