Sat. Jul 27th, 2024

ट्रम्प समर्थकद्वारा संसद् भवनमा हङ्गामा

- अमेरिकी निर्वाचन

काठमाडौं, २०७७ पुस २३ गते बिहीबार

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।

विविसीका अनुसार सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्‍यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए। त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्।

थप सुरक्षा बल तैनाथ

अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिनु भएको हो ।

उहाँले ट्वीटमा लेख्नु भएको छ, “राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुन: दोहोर्‍याउँछौँ।”

क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो। एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो।

Facebook Comments