Sat. Apr 27th, 2024

कालीगण्डकी करिडोर प्रसारण लाइनको काम सकियो

काठमाडौं, २०७७ पुस २० गते सोमबार

कालीगण्डकी करिडोर विद्युत् प्रसारण लाइनको दुई वटा सवस्टेशन र विद्युत् प्रसारण लाइन निर्माणको काम सकिएको छ । २२०/१३२ केभी क्षमताको यो आयोजनाको सबै काम सकेर आन्तरिक परीक्षणको चरणमा पुगेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । उहाँले सम्झौता अवधि भन्दा दुई वर्ष ढिला गरी सम्पन्न भएको बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दाना देखि पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट सम्म जोडिने यो प्रसारण लाइनको दोस्रो खण्ड पर्वतको खुर्कोट हुँदै बुटवल सम्म जोडिने छ । दाना–खुर्कोट सवस्टेसनको दुरी ३९ किलोमिटर र खुर्कोट-बुटवलको दुरी ८८ किलोमिटर छ ।

म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बिचमा ११० टावर बनाएर तार तान्ने काम सकिएको घोषले जानकारी दिनुभयो । सबै प्राविधिक काम सकिए पनि सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्य तालिका बनाइरहेको आयोजना निर्माण पक्षले जनाएको छ । पर्वत, म्याग्दी र मुस्ताङका गरी करिब डेढ सय मेगावाटका आयोजना एक वर्ष उत्पादन सुरु गर्नेगरि तयारीमा छन् । पर्वतको मोदीमा २, म्याग्दीको घलेम्दी, मिरिस्तीमा ३ र मुस्ताङको थापाखोलामा एक विद्युत् आयोजनाहरू एक वर्षभित्रै उत्पादनको तयारीमा छन् । यी आयोजनाहरू छिटै सम्पन्न भए पनि राष्ट्रिय प्रसारणमा पठाउन कालिगण्डकी प्रसारण करिडोर नै कुर्नुपर्ने छ ।

यो प्रसारण लाइन निर्माण पश्चात् ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३ दशमलव ६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने छ । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण सुरु गरेको छ ।

पर्वतको मोदीखोलामा निर्माणाधीन आयोजनाको विद्युत् पनि यो प्रसारण लाइन मार्फत केन्द्रीय लाइनमा जोड्ने तयारी छ । दानादेखि खुर्कोट सम्म ५०० मेगावाट र खुर्कोटदेखि बुटवल सम्मको प्रसारण लाइनमा १५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको आयोजना उप सहायक प्रबन्धक लक्ष्मण फुयाँलले जानकारी दिनुभयो ।

एसियाली विकास बैङ्कको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि सुरु गरेको सो परियोजना सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा  तीन अर्ब खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । सन् २०१६ मा दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको थियो । रेडियो नेपाल

Facebook Comments