Sat. Jul 27th, 2024

“दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

- जलस्रोतको बहुआयामिक उपयोगको नीति बनाउन विज्ञहरुको जोड

काठमाडौं, २०७७ पुस १६ गते बिहीबार

राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो ।  जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा गाडेको बताए । नेपाल आफैले आफ्नो जल सम्पदाको उपयोग गर्न नसक्नु र राजनीतिक स्थिरता नभएका कारण जलस्रोत अन्य मुलुकहरुको नियन्त्रणमा जानसक्ने खतरा पनि विज्ञहरुले औल्याए ।

Leela Mani Paudyal

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक जलस्रोत रहेको बताउनु भयो । विभिन्न बाहाना र कारण देखाएर नेपालमा पटक पटक विदेशी स्वार्थहरु घुस्ने गरेको भन्दै उहाँले त्यसका विरुद्धमा अडान लिन खोज्दा कतिपय अवस्थामा व्यक्तिगत सुरक्षाको समेत खतरा उत्पन्न हुने आफूले महशुस गरेको उहाँले बताउनु भयो । आफ्नो कार्यकालमा यस्तै स्वार्थहरु छिरेर एउटा ठूलो प्रोजेक्ट डिजाइन गर्न खोजिएको तर आफूले रोकेको पनि उहाँले स्मरण गनुृभयो । उर्जा नहुनु भन्दा महंगो उर्जा हुनु सही हो भन्ने तर्क गर्दै डिजेल प्लान्टको अवधारणा आएको र देशका निम्ति त्यो निकै खतरानाक रहेको उहाँले बताउनु भयो । त्यतिबेला ल्याइएको डिजेल प्लान्ट प्रति युनिट २९ रुपैयाँले नेपालीलाई नै बिक्री गर्ने भनिएको तर सबै लागत हेर्दा प्रतियुनिट ४५ रुपैयाँभन्दा बढी पर्ने स्पष्ट देखेपछि आफूले उक्त प्रोजेक्ट डिजाइन गर्नेहरुलाई यस्तो देशघाती काम नगर्न चेतावनी दिएको पौड्यालले स्मरण गर्नुभयो । यस्तै उर्जा विकासको नाममा मित्रराष्ट्र अमेरिकालाई नेपालको छिमेकी मित्रराष्ट्र चीनको बिरुद्धमा असर पर्ने गतिविधि गर्न दिन नहुने बताउनु भयो । उहाँले नेपालको जलस्रोत नीति बनाउँदा पहिलो प्राथमिकतामा पिउने पानी, दोश्रो प्राथमिकतामा सिंचाई र तेश्रो प्राथमिकतामा मात्र उर्जा विकास राख्नुपर्ने बताउनु भयो ।  

Dipak Gyawali

कार्यक्रममा बोल्दै पूर्व जलस्रोत मन्त्री तथा जलस्रोत विज्ञ दीपक ज्ञवालीले नेपालको पानीको उपयोग सही रुपमा हुन नसकेको बताउनु भयो । कुनै आधिकारिता विना जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो देश भन्ने गरिए पनि त्यो सही नभएको बताउनु भयो। नेपाल ४ महिना बाढीको धनी र ८ महिना खडेरीको धनी भएको बताए । उहाँले यो कुरा एउटा खुट्टो अँगेनामा झोस्ने र एउट खुट्टो रेफ्रीजेरेटरमा राख्ने अनि औषतमा भन्दा मलाई आरामै छ भनेको जस्तो भएको बताउनु भयो । यहाँको पानी पनि व्यवस्थित रुपमा उपयोग गर्न नसकिएको उहाँको भनाइ थियो । साथै उहाँले एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि ल्याइएको ऐन नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको बताउनु भयो । ज्ञवालीले अमेरिकी परियोजना नेपालको हीतका लागि नभएको तर्क गर्नुभयो । उहाँले नेपालीले उत्पादन गरेको बिजुली नेपालभित्रै बाँढ्नका लागि भन्दापनि भारत पुर्याउने उदेश्यका साथ निर्माण गर्न लागिएको बताउनु भयो । अहिले नेपालमा लोडसेडिङ् हटेको दावी गरेपनि नेपालको उत्पादनको अनुपातमा झन्डै ५० प्रतिशत भारतबाट ल्याएका कारण संभव रहेको उल्लेख गर्नुभयो । नेपाललाई अरु कुनै देशको गोटी बन्न दिन नहुने पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा जलस्रोत विशेषज्ञ रतन भण्डारीले जलस्रोतमाथिको बहस केवल विद्युतमा मात्र केन्द्रित हुने गरेको भन्दै यो सही बुझाई नभएको बताउनु भयो । जलस्रोतको बहुआयामिक उपयोगमा ध्यान दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । पानीलाई केवल विद्युतको आँखाले हेर्न नहुने उहाँको तर्क थियो । नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि नेपालका ग्रामीण भूगोलहरुमा स्वच्छ खानेपानीको समस्या रहेको, सिचाईमा आकाशेपानीको भर पर्नुपरेको र तराईमा जमिन मुनिको पानी उपभोग भइरहेको उहाँले बताउनु भयो । अहिले केही मानिसले देशमा लोडसेडिङ अन्त्य भएको बताइरहेको तर यसमा पनि अध्ययनको कमी रहेको भन्दै भण्डारीले नेपालका अधिकांश गाउँहरु विद्युत सेवाबाट वञ्चित रहेको र विद्युत नपुगेका ठाउँको सदाकालिन लोडसेडिङका बारेमा कसैले कुरा नगरेको पनि बताउनु भयो।

Madhu Sudhan Adhikari.

नेपाल सरकारका जलस्रोत तथा सिंचाई सचिव मधुसुदन अधिकारीले जलस्रोतलाई बहुआयामिक रुपमा उपयोग गरिनुपर्नेमा जोड दिनु भयो । अहिले सरकारले एकीकृत जलस्रोत नीति ल्याएको जानकारी गराउँदै उहाँले कुन कुन क्षेत्रमा कति उपयोगिता र कुन कुन क्षेत्रहरु प्राथमिकतामा हुने भन्ने छुट्याइएको जानकारी दिनुभयो । उहाँले पानीमा अन्तरक्षेत्रीय द्वन्द्व नहोस भन्ने कुरामा नेपालले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जलस्रोतमा एउटा मात्र देशको नभई अरुको पनि चासो रहने गरेको भन्दै धेरैले अहिले प्राकृतिक स्रोत उपभोगको अधिकार उठाउने गरेको बताउनु भयो ।

। जलस्रोतका अभियन्ता भरतबहादुर शाहीले नेपालमा जलस्रोत प्रयोगबारे अहिलेसम्म पर्याप्त छलफल हुन नसकेको बताउनु भयो ।देशको मेरुदण्ड हुनसक्ने जलविद्युत आयोजनाको विकास र उपभोगबारे पर्याप्त अध्ययन हुन नसकेको पनि शाहीको धारणा थियो ।

कार्यक्रममा जलस्रोतका अभियन्ता स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपान का उपाध्यक्ष गणेश कार्कीले उद्यमीहरु राज्यसँग सहकार्य गरेर विद्युत विकासमा लाग्न तयार रहेको बताउनु भयो । कार्कीले नेपालको विकासको मूल आधार नै विद्युत भएकोले जतिसक्दो धेरै उत्पादनमा जोड दिनुपर्ने बच.ताउनु भयो । अहिले भनिएजस्तो नेपालको विद्युत उत्पादनको क्षमता ८३ हजार नभए पनि ४० हजार भएको उहाँले उल्लेख गर्नुभयो । २० हजार मेगावाट विद्युत आन्तरिक खपत गरेर २० हजार बेच्न सके मात्रै पनि राज्य समृद्धिको बाटोमा जाने उहाँको भनाई थियो । चुलो र घरमा बाल्ने विद्युतको हिसाब गरेर राज्य बसेको भन्दै कार्कीले उत्पादनमूलक र औद्योगिक क्षेत्रमा विद्युत खपत नभई समृद्धि नआउने उल्लेख गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका तर्फबाट पत्रकार प्रभात चलाउनेले नेपालको प्राकृतिक सम्पदा विश्वका लागि स्वार्थको विषय भएकोले जल तथा उर्जा नेपालको हीतका लागि कसरी प्रयोग भन्नेबारेमा पर्याप्त छलफल हुन आवश्यक रहेको बताउनु भयो ।

पत्रकार रमेश हुतुवालीले सहजिकरण गर्नुभएको सो कार्यक्रमलाई मिडिया पार्टनरको भूमिकामा रहेको बागमती टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

Facebook Comments