काठमाण्डूको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५
काठमाण्डू । काठमाण्डूको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाण्डूको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ ।
यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाण्डूको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको बताउनुभयो । चिसो अझै बढ्ने अनुमान गरिएको छ । आज जुम्लाको तापक्रम माइनस ४.५ रहेको छ ।
विभागले आज राति सार्वजनिक गरेको बुलेटिनमा पुस १६ गते तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहने तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यही पुस १७ गते पनि उस्तै अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको जनाइएको छ । रासस

