Sat. Jul 27th, 2024

मुख्यमन्त्री राई विरुद्ध पनि अविस्वासको कसरत सुरु

मुख्यमन्त्री शेरधन राई

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

सत्तारुढ दल दुई चिरा भएसँगै प्रदेश सरकारहरु पनि त्यसको चपेटामा परेका छन् । यसैबीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसरत सुरु भएको छ ।

संघीय प्रतिनिधि सभा विघटन भएसँगै नेकपाभित्र फैलिएको हानाथाप र खिचातानीको राप प्रदेश नम्बर एकमा समेत पुगेको हो । शुक्रबार दिउसो बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको समाचार सार्वजनिक हुँदै गर्दा प्रदेश नम्बर एकको राजधानी विराटनगरमा प्रचण्ड-नेपाल गुटका केही केन्द्रीय सांसद, प्रदेश सांसदहरु र सोही समुहका स्थानीय नेताहरु मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव पत्र तयार गर्दै थिए ।

स्रोतकाअनुसार मुख्यमन्त्री राई ओली पक्षको बलियो खम्बाको रुपमा उभिएकोले उहाँ विरुद्ध पनि अविस्वासको प्रस्तावको तानावाना बुनिएको हो । मुख्यमन्त्री राईविरुद्ध आइतबार सबेरै अविस्वासको प्रस्ताव दर्ता गरिने वलियो संभावना रहेको स्रोतले दावी गरेको छ ।

प्रदेश नम्बर १ मा सरकार बदलिने चलखेल सुरु भएपछि केही मन्त्रीहरुले अनौठो गरी लाइन बदल्न थालेका छन् । यसअघि राईको नेतृत्वमा प्रदेश सरकार गठन गर्दा माधव नेपाल पक्षका नेता जीवन घिमिरे मन्त्री पद प्राप्त गर्नकै लागि माधव नेपाल समूहबाट ओली समूहमा जानु भएको बताईन्छ । उहाँले त्यतिबेला सामाजिक विकास मन्त्रीको पद प्राप्त गर्नुभएको थियो । तर यत्तिवेला मन्त्री घिमिरे नै राईको पद नरहने पक्का भएपछि फेरि प्रचण्ड-माधव समूहतिरै फर्कनु भएको छ । प्रदेश सरकार गठन गर्दा मन्त्री घिमिरे मुख्यमन्त्रीका प्रतिस्पर्धी नेपाल समुहकै भिम आचार्यको साथ छोडेर मुख्यमन्त्री राईतिर लाग्नु भएको गुनासो धेरैले गरेका थिए । त्यसैगरी केही अन्य नेताहरु पनि अबको सरकार बन्ने सम्भावना भएको टिमतिरै लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको भोलिपल्ट पुस ६ गते मुख्यमन्त्री राईले आकस्मिक मन्त्रिपरिषद बैठक राख्नु भएको थियो । उक्त बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बो अनुपस्थित हुनु भएको थियो । त्यसबेलादेखि नै प्रदेश १ मा सरकार परिवर्तनको चलखेल सुरु भएको अनुमान ओली समूहले गरेको थियो । प्रदेश १ मन्त्रिपरिषदमा प्रचण्ड-नेपाल पक्षका पाँचजना मन्त्री रहेका छन् ।

प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड-नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरेका छन्। प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।

प्रचण्ड-नेपाल समूहका मन्त्री कुलप्रसाद साम्बा कुशलले यसअघि मुख्यमन्त्री राईलाई नैतिकताका आधारमा राजिनामा दिन सार्वजनिक आह्वान नै गर्नु भएको थियो । मन्त्री साम्बाले नेकपा विभाजित भएको र मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै राजिनामा दिन आग्रह गर्नु भएको थियो ।

Facebook Comments