Sat. Jul 27th, 2024

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजीनामा

मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

बागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गर्नुभएको हस्ताक्षरकर्ता सांसद ओमबहादुर ग्लानले जानकारी दिनुभयो ।

संसद सचिवालयमा ४५ जना सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिएको छ । शुक्रबार बिहान ११ः२५ बजे सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसैबीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको छ । सामूहिक राजीनामा पत्रमा प्रदेश सरकार कामकारबाही र दिशाविहीन हुनुमा मुख्यमन्त्री डोरमणि पौडेलको सुस्त कार्यशैली रहेको औल्याइएको छ ।

Facebook Comments