चीनले कहिल्यै पनि जापानी सैन्यवादको पुनरुत्थानलाई अनुमति दिँदैनः प्रवक्ता
पैचिङ । चीनले कहिल्यै पनि जापानी सैन्यवादको पुनरुत्थान वा युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिन कसैलाई अनुमति नदिने बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले हिजो (मंगलबार) राजधानी पैचिङमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । जापानले आफ्नो आत्मरक्षा बलको सैन्य श्रेणीमा सुधार गर्ने विचार गरिरहेको समाचारका बारेमा सञ्चारकर्मीहरुले गरेका प्रश्नको जवाफमा प्रवक्ता माओ निङले सो टिप्पणी गर्नुभएको हो ।
जापानबाट प्राप्त आत्मरक्षा बलको सैन्य प्रभावलाई कम गर्ने लामो समयदेखिको अभ्यासलाई तोड्ने समाचारले जापानी औपनिवेशिक आक्रमणबाट पीडित देशका जनताका लागि उक्त समाचार इतिहासको घाउमा नुन दल्नु जस्तै भएको प्रवक्ता माओ निङले बताउनु भयो । इतिहासमा यसको औपनिवेशिक शासन र आक्रामकतालाई ध्यानमा राख्दै, जापानको सैन्य र सुरक्षा चालहरूलाई एसियाली छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायले नजिकबाट हेरिरहेको पनि प्रवक्ता माओ निङको भनाई छ । पोट्सड्याम घोषणापत्रका सिद्धान्त विपरित हालैका वर्षहरूमा जापानले आफ्नो सुरक्षा र रक्षा नीतिमा उल्लेखनीय समायोजन गरेको, वर्षौंदेखि आफ्नो रक्षा बजेट बढाएको छ, हतियार निर्यातमा प्रतिबन्धहरू खुकुलो पारेको, आक्रामक हतियारहरू विकास गर्न खोजेको र तीनवटा गैर-आणविक सिद्धान्तहरू त्याग्न खोजेकोमा चीनले आपत्ती जनाएको छ ।
जापानका दक्षिणपन्थी शक्तिहरू शान्तिवादी संविधानको अवरोधहरूबाट मुक्त हुन कडा प्रयास गरिरहेका छन् र सैन्य विस्तारको बाटोमा अझ भड्किरहेका पनि प्रवक्ता माओ निङले जानकारी दिनुभयो । सीसीटिभीका अनुसार ८० वर्ष पहिले सुरु भएको आक्रामक युद्धले एशिया र विश्वलाई ठूलो विपत्तिमा पारेको उल्लेख गर्नुहुँदै प्रवक्ता माओ निङले युद्ध बिर्सनेहरूले खतरालाई निम्त्याउन खोजेको पनि बताउनु भयो ।

