Sat. May 18th, 2024

बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक

- करिब ४० राष्ट्रद्वारा बेलायत यात्रामा प्रतिबन्ध

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

बेलायतमा नयाँ कोरोना भाइरसको प्रजाति भेटिएसंँगै नेपाल नागरिक उड्डययन प्राधिकरणले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । प्राधिकरणले नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै अन्तर्राष्ट्रिय हवाई सेवा रोक्न भनेको छ ।
बेलायतमा कोरोना सङ्क्रमणको नयाँ भाइरस पुष्टि भएको समाचार आएसंँगै प्राधिकरणले बेलायतबाट कुनै पनि एयरलाइन्सले सीधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन नपाउने निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने जनाएको छ ।

 नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिदै गएपछि बेलायत विश्व समुदायको सम्पर्कबाट एक्लिदै गएको छ । मंगलबारसम्म करिब ४० राष्ट्रले बेलायत यात्रामा प्रतिबन्ध लगाएको छ ।

बीबीसीका अनुसार एक्लिदै गएपछि बेलायतले एक्ला एक्लै प्रतिबन्ध लगाएका राष्ट्रसँग छलफलमा तिब्रता दिएको छ । यूरोपेली संघ मातहातका राष्ट्रले संयुक्त प्रतिबन्धबारे पछि समन्वय गर्ने जनाउँदै तात्काल एक्ला एक्लै प्रतिबन्ध लगाएको छ । स्वीडेनले डेनमार्क यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ प्रकारका कोरोनाभाइरसको सङ्क्रमण डेनमार्कमा समेत देखिएको छ ।

गोरखापत्र अनलाईनका अनुसार नयाँ प्रकारका कोरोनाभाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएपनि सार्स-कोभ-२ भन्दा बढी घातक हुने भन्ने कुनै संकेत देखिएको छैन । यूरोपेली संघ मातहातका सबै २७ राष्ट्रले बेलायतको यात्रामा प्रतिबन्ध लगाएको छ । दक्षिण पूर्ब इंग्ल्याण्डको केन्टमा करिब एक हजार पाँच सय लौरी ठप्प भएको छ । फ्रान्सेली सीमा क्षेत्र नजिकको उक्त नाका बुधबारदेखि खुलाउने प्रयास हुँदैछ ।

स्पेन, पोर्चुगल र हंगेरीले आफ्ना नागरिकको आगमनको अनुमति मात्रै दिएको छ । बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रहरुको संख्या थपिदै जाँदा विश्व स्वास्थ्य संगठनको यूरोप निर्देशक हान्स क्लजले सीमित यात्राका लागि नीति बनाई ब्यापार सन्तुलन बनाइराख्नुपर्ने बताउनुभएको छ ।

यसअघि विश्व स्वास्थ्य संगठनको आपातकाल प्रमुख माइक रयानले नयाँ प्रकारको कोरोनाभाइरस देखिनु महामारीको उत्पत्ति हुनुअघिको सामान्य अवस्था रहेको बताउनुभयो ।

Facebook Comments