Sat. Jul 27th, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

 राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।

Facebook Comments