Sat. May 4th, 2024

प्रधानमन्त्री ओली नेकपा स्थायी कमिटी बैठकमा सहभागी, अध्यादेश फिर्ता लिन सहमत

काठमाडौं, २०७७ पुस १ गते बुधबार

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ ।

मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धि नयाँ अध्यादेशको कारण आफ्नै पार्टी र विपक्षी पार्टीहरुको चर्को आलोचनाको शिकार हुनुभएका उहाँ नेकपा स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको हो ।

बैठकमा सहभागी हुनुभन्दा पहिले उहाँले नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नु भएको थियो । सो छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनका लागि पनि निवेदन दर्ता नगर्ने सहमति भएपछि ओली बैठकमा सहभागी हुनुभएको हो ।

बुधबारको स्थायी कमिटी बैठकमा छलफल गरेर अध्यादेश फिर्ता गर्न माग गर्ने नेताहरूले तयारी गरेपछि दुई अध्यक्षबीच यस्तो सहमति भएको हो । सहमतिसँगै ओली बैठकमा सहभागी भएपछि दुई अध्यक्षबीचको सम्बन्ध केही मात्रामा भए पनि सुधार हुने अपेक्षा गरिएको छ ।

यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो ।

Facebook Comments