Mon. May 6th, 2024

संवैधानिक परिषद्को बैठक साँझ ५ बजे पुनः बस्ने

काठमाडौं, २०७७ मंसिर ३० गते मंगलबार

संवैधानिक परिषद्को बैठक विहान कोरम नपुगेपछि आजै साँझ ५ बजेका लागि बोलाइएको छ । तर साँझको बैठकमा पनि कोरम पुग्ने नपुग्नेबारे अवस्था सुनिश्चित् भइनसकेको बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहनुभएको परिषदमा ६ सदस्य रहनुभएको छ । त्यसका लागि ५ जनाको उपस्थिति अनिवार्य मानिन्छ । तर अहिलेसम्म उपसभामुखको चयन हुन सकेको छैन । परिषदमा प्रधानमन्त्रीसहित प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिपक्षीदलका प्रमुख नेता, उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार विहानको बैठक स्थगित भएपछि आजै साँझ ५ बजेका लागि परिषद बैठक बोलाइएको छ । विहान बोलाइएको परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहनुभएपछि गणपुरक संख्या पुग्न सकेन । साँझको बैठकमा पनि उहाँ उपस्थित हुने नहुने निश्चित नभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुखको प्रेस संयोजक श्रीधर न्योपानेकाअनुसार परिषदका अध्यक्ष र सदस्यहरुबीच समन्वय अभाव रहेको र बैठकको कार्यसूचीबारे गृहकार्य नगरिएकाले सभामुख सापकोटा विहानको बैठकमा अनुपस्थित रहनुभयो । साँझ पुनः बैठक बोलाइएको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएपनि आधिकारिक जानकारी नआएको उहाँले बताउनुभयो । साँझको बैठकमा पनि सभामुख सापकोटा उपस्थित हुने नहुनेबारे टुङ्गो लागिनसकेको उहाँले बताउनुभयो ।

यसअघि गत आइतबार पनि प्रधानमन्त्रीले परिषदको बैठक बोलाउनुभएको थियो । तर सो बैठकमा पनि विपक्षीदलका नेता तथा सभामुख अनुपस्थित रहनुभएपछि बैठक बस्न सकेन । संवैधानिक निकायमा रिक्त रहेको ४५ पद पूर्ति गर्न परिषद बैठक आव्हान गरिदैआएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments