पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाण्डू उपत्यकाबाट बाहिरिए
दसैँको फूलपाती दिन सोमबार काठमाण्डूबाट गृहजिल्ला फर्कन गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चढन आएका यात्रु र आफ्नो गन्तव्य जाने क्रममा रहेको सवारीसाधन । तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाण्डू । पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाण्डू उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाण्डू उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२ हजार ७५५ जना काठमाडौँ उपत्यका भित्रिएका प्रहरीले जनाएको छ ।
दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाण्डू उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताउनुभयो ।
राससका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डू उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन्भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौँ भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

