Sat. Jul 27th, 2024

अराजकता विरुद्ध सकारात्मक ढङ्गले अघि बढ्न प्रम ओलीको आव्हान

काठमाडौं, २०७७ मंसिर २३ गते मंगलबार

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अराजकता अन्त्य गर्न सबै दललाई सकारात्मक ढङ्गले अघि बढ्न आव्हान गर्नुभएको छ ।

विहान साढे ११ बजेबाट शुरुभएको बैठक करिब तीन घण्टा बसेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठकमा सहभागी दलका नेताहरुले आफ्ना सुझाव दिनुभएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रियता, नेपालको सम्प्रभुता, लामो संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबै दलको सामुहिक सहयोगको खाँचो औल्याउनुभएको थियो ।

अहिले आफूमाथि विभिन्न शक्तिहरुले लोकतन्त्र र गणतन्त्र विरोधीको आरोप लगाइरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले लामो संघर्षबाट प्राप्त उपलब्धीको रक्षामा आफू सदैव दृढ रहेको र रहिरहने प्रतिवद्धता जनाउनुभएको थियो । केही शक्तिहरुले गणतन्त्र हटाउने सपना देखिरहेको र अहिले टाउको उठाउन खोजेको भन्दै उहाँले त्यस्तो हुन नदिइने प्रष्ट पार्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार छलफलमा दलको तर्फबाट आएको सुझाव र सल्लाहलाई मनन गर्दै सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनुभएको उहाँको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद र घरझगडा चलेपछि राजावादी शक्तिहरुले प्रदर्शन गर्न थालेका छन् । बैठकमा राप्रपाका नेताहरुले सडकमा भइरहेको प्रदर्शनको आफ्नो दलको समर्थन रहेको धारणा राख्नुभएको बुझिएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दल नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, जनमोर्चा, नेमकिपाका नेताहरुको सहभागिता थियो ।

Facebook Comments