Sat. Jul 27th, 2024

सगरमाथाको उचाई आजदेखि ८ हजार ८ सय ४८ दशमलव  ८६ मिटर  

काठमाडौं, २०७७ मंसिर २३ गते मंगलबार

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिएको छ ।

काठमाडौं मिन भवनस्थित नापी विभागमा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा आजदेखि सगरमाथाको आधिकारिक उचाई  ८ हजार ८ सय ४८ दशमलव  ८६ मिटर  पुगेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गर्नुभयो ।

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेका हुन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।

यस अघि सगरमाथाको उचाई आठ हजार ८ सय ४८ मिटर रहेको थियो । जुन उचाई अब इतिहासका पानामा मात्र सिमित भएको छ ।

विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको हो । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत-साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको छ ।

Facebook Comments