Mon. May 6th, 2024

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमारले प्रधानमन्त्रीसँग भेटेको विषयबारे नेता रावलको आपत्ति

काठमाडौं, २०७७ मंसिर १९ गते शुक्रबार

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको विषयबारे नेकपा का नेता भिम रावलको आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधसभाको अन्तर्राट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहनु भएका नेकपाका सांसद रावलले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको विषयबारे संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नभएको भन्दै आपत्ति जनाउनु भएको हो ।

‘भारतका गुप्चतर संस्था रअका प्रमुख सामन्त गोयल सैनिक जहाजमा चढेर काठमाडौं आए । त्यसबारे भारत र नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी गराएको छैन । राति प्रधानमन्त्री निवासमा गुप्तचरसँग भेट्ने कुरा मिलेन । यस्ता गतिविधि गरिनु हुन्न,’ रावलले भन्नुभयो ।

कान्तिपुर अनलाईनका अनुसार भारतले विगतदेखि नै गुप्तचर संस्थामार्फत नेपालमा शुक्ष्म व्यवस्थापन गर्दै आएको र त्यसको जनताको स्तरबाट विरोध भएको स्मरण गर्दै रावलले आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिने गरी अगाडि बढ्नुपर्ने बताउनु भयो । ‘जति बेला हाम्रो देश द्वन्द्वमा थियो त्यसपछि देश शान्ति प्रक्रियामा थियो त्यतिबेला शुक्ष्म व्यवस्थापन गर्न खोज्दा जनताको तहबाटै विरोध भएको हो । फेरि सुक्ष्म व्यवस्थापन गर्ने कुरा नहोस्,’ उहाँले भन्नु भयो ।

पार्टीको विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उक्त भ्रमणबारे जानकारी नरहेको र सत्तारुढ दलका सांसद आफूलाई पनि त्यो जानकारी नभएको रावलको भनाइ थियो । ‘अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्ने कुरा मेल खाँदैन । त्यो बन्द गरिनुपर्छ,’ रावलले भन्नु भयो ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणका बेला उपलब्धी के भए भन्ने नखुलाइएको रावलले भन्नु भयो । कालापानी क्षेत्रलाई नेपालको नक्सामा समेट्दा भारतीय सेनाध्यक्ष एमएम नरवणेले बोलेका कुराबारे छलफल नभएको, दुई देशबीचको प्रबुद्ध व्यक्तिहरूको समूहको प्रतिवेदन बुझ्नेबारे पनि छलफलको विषय नरहेकोमा उहाँले आपत्ति जनाउनु भयो । आगामी दिनमा मन्त्रीस्तरीय छलफलमा यसबारे व्यापक छलफलका लागि नेपालले एजेन्डा राख्नुपर्ने रावलको सुझाव थियो ।

Facebook Comments