Sat. Dec 28th, 2024

स्वास्थ्यमन्त्री भन्नुहुन्छ: कोरोना खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले पाउँछन्

काठमाडौं, २०७७ मंसिर ९ गते मंगलबार

सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ ।

विश्वप्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै खाेप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो । स्वास्थ्यमन्त्री ढकालले खाेपकाे व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताउनुभयो ।

अहिले परीक्षणका क्रममा रहेका खाेपहरू प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । खाेप सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर, कानुनी अफ्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो । खाेप अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरू म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताउनुभयो । उहाँले तरकारी, फलफुललगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताउनुभयो ।

मङ्सिर ३ गतेदेखि ९ गतेसम्म चलेको सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा ललित कला क्याम्पसमा अध्ययनरत विनिता खड्का प्रथम, होप इन्टरनेशनल कलेजमा अध्ययनरत स्वस्तिमा सापकोटा द्वितीय र नेशनल स्कुल अफ साइन्समा अध्ययनरत राजकी अर्याल तृतीय भएका छन् । उनीहरूलाई नगदसहित सम्मान गरिएको छ । उज्यालो अनलाईनबाट

Facebook Comments