Thu. Apr 25th, 2024

नेपालका लागि चिनियाँ राजदूत हौ र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २०७७ मंसिर ८ गते सोमबार

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ।

सोमबार बिहान करिब ढेढ घण्टा भेटवार्ता भएको नेपाल खबर अनलाइनले लेखेको छ। सत्तारुढ नेकपाभित्रको विवादले विभाजनको रुप लिन लागिरहेका बेला चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ गते काठमाडौं ओर्लंदै छन्। यही सन्दर्भमा प्रचण्डलसँग राजदूत होउले छलफल गरेको बुझिएको छ।

केही दिअघि राजदुत होउले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो।

सत्तारुढ नेकपामा पटक पटक विवाद बल्झिँदा चीनले राजदुत होउ मार्फत राजनीतिक स्थिरता र विकासका लागि भन्दै पार्टी विभाजन नगर्न सुझाव दिँदै आएको छ। करिब एक वर्षदेखि चीनबाट उच्च राजनीतिक भ्रमण नभइरहेका बेला रक्षामन्त्री वेइ नेपाल आउन लागेका हुन्। चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष अक्टोबर १२-१३ मा भ्रमण गरेयता नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन्।

चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस रक्षा गठबन्धन बढाउँदै लगेका छन्। केही समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई महत्वका साथ हेरिएको छ।

Facebook Comments