Tue. May 26th, 2026

‘कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’  

       

काठमाण्डू, २०८२ असार २० गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण श्रमजीवी जनताको समतामूलक समृद्धिका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले देशको राजनीतिमा विभिन्न कम्युनिष्ट पार्टीमा बढ्दै गइरहेका अन्तरविरोधलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताउनुभयो ।

विश्व परिवेशमा कम्युनिष्ट आन्दोलन कमजोर भएको समयमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेको बताउँदै अध्यक्ष नेपालले देशको धरातलीय यथार्थ सापेक्ष कार्यनीतिक कार्यदिशाका कारण नेपाली समाजको रुपान्तरणका लागि कम्युनिष्ट आदर्श तथा विचारको विकास सम्भव भएको उल्लेख गर्नुभयो ।

विभिन्न समूहमा छरिएका वामपन्थी शक्तिलाई एकीकृत गरी बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि प्रयास भइरहेको बताउँदै उहाँले सामाजिक न्याय, समानता, आर्थिक विकासको लक्ष्य हासिल गर्न कम्युनिष्टहरूले वर्गीय शोषण, उत्पीडन विभेदको अन्त्यका लागि क्रियाशील हुनपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुलवादी समाज, पूर्ण लोकतान्त्रिक अधिकार, जनताको समतामूलक समृद्धि, सामन्तवादको अन्त्य र शोषित, पीडित जनताको आर्थिक विकासका लागि एकीकृत समाजवादीको स्थापना भएको विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा भ्रष्टाचारका कारण आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले आफ्नो पार्टी मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक अधिकारसहितको पूर्ण नागरिक स्वतन्त्रता, लेख्न, बोल्न पाउने अधिकारका लागि आफूले लामो सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष नेपालले राजनीतिक षड्यन्त्रका कारण अहिले आफूलाई भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभयो । उहाँले आफूले कहिले पनि अनियमितता नगरेकाले अदालतबाट न्याय प्राप्त गर्ने विचार व्यक्त गर्नुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read