Fri. Apr 26th, 2024

नेपालमा कोरोना संक्रमितको संख्या दुईलाख नाघ्यो

- रोकथाम तथा उपचारमा चार महिनामा सात अर्ब विनियोजन

काठमाडौं, २०७७ कात्तिक २६ गते सोमबार

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ५६९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । पछिल्लो एक महिनामा सङ्क्रमितको संख्या दोब्बर भएको छ । यसअघि असोज २३ गते नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ६६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २४३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशैभरि ३८ हजार ९१२ जना सङ्क्रमित आइसोलेशनमा छन् । मन्त्रालयले हालसम्म पन्ध्र लाख ७४ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले आफ्नो प्रेस ब्रिफिङ्गको क्रममा चौबीस घण्टामा देशभरि दुई हजार ५६९ जना सङ्क्रमित थपिएको जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले हाल नेपालमा ३८ हजार ९१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो । पछिल्लो चौबीस घण्टामा २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

कोरोना रोकथाम तथा उपचारमा चार महिनामा सात अर्ब विनियोजन

यसैबीच सरकारले चालू आर्थिक वर्षको पहिलो चार महिनामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा करीब सात अर्ब रुपियाँ विनियोजन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना यता उक्त शीर्षकमा छ अर्ब ८१ करोड ५९ लाख छ हजार रुपियाँ विनियोजन गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङ्गको क्रममा उक्त शीर्षक अन्तगर्त विभिन्न तीन उपशीर्षकमा करीब सात अर्ब निकासा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘हाइ डेपेन्डेन्सी यूनिट’ स्थापनाका लागि निकासा गरिएको तीन अर्ब ८१ करोड ५९ लाख छ हजार रुपियाँ निकासा गरिएको बजेटमा जोडिएको छ ।

कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षण तथा ब्यवस्थापनमा एक अर्ब १२ करोड ४० लाख रुपियाँ निकासा गरिएको छ । गत् कात्तिक २ गतेदेखि सरकारले कोभिड-१९ सङ्क्रमितको उपचार र परीक्षण आफ्नै खर्चमा गर्ने निर्णय लागू गरेको थियो । उक्त निर्णयको आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले सूचीकृत गरेको सरकारी प्रयोगशाला तथा अस्पतालमा लक्षण देखिएका बिरामीको परीक्षण र उपचार सरकारले निशुल्क गर्ने निर्णय गरेको छ । तर बीमा कम्पनीबाट कोरोना बीमा गराएका बिरामीको हकमा बीमा रकमबाट परीक्षण र उपचार बापत्को रुपियाँ भुक्तानी गरिने मन्त्रालयका प्रवक्ता डा. गौतमले प्रष्ट्याउनुभएको छ ।

आईसीयू, भेन्टिलेटर र अस्पताल सुदृढीकरणका लागि मन्त्रालयले एक अर्ब २९ करोड ९० रुपियाँ निकासा गरेको छ । त्यसैगरी सङ्क्रमित ब्यवस्थापन, कन्टयाक्ट ट्रेसिङ र जोखिम भत्ता बापत् एक अर्ब १४ करोड २९ लाख छ हजार रुपियाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ । हाल कन्ट्याक्ट ट्रेसिङ्गको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । लक्षण नभएका कोरोना सङ्क्रमितलाई होम आइसोलेशनमै बस्न निर्देशिका जारी गरिएको छ । संस्थागत् आइसोलेशनमा बस्नेभन्दा होम आइसोलेशनमा बस्नेको संख्या अत्याधिक हुँदा सङ्क्रमित ब्यवस्थापनमा खर्च थोरै देखिएको छ । संस्थागत् आइसोलेशनमा हाल दश हजार ५१९ ब्यक्ति बसेका छन् । होम आइसोलेशनमा करीब २८ हजार ब्यक्ति छन् ।

यसअघि सङ्क्रमित र बाहिरबाट आउने सङ्क्रमणको जोखिममा रहेका सम्भावित ब्यक्तिलाई क्वारेन्टिनमा राख्ने गरिएको थियो । देशभरि क्वारेन्टिनमा रहेका ब्यक्तिको संख्या घट्दो क्रममा छ । हाल देशभरि एक हजार १०९ जना क्वारेन्टिनमा छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments