Fri. Apr 26th, 2024

प्रधानमन्त्रीबाट किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

काठमाडौं, २०७७ कात्तिक २६ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका-५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओली हेलिकोप्टरबाट विहान करिब १० बजे सो क्षेत्रमा पुग्नुभएको थियो ।

अनुगमनका क्रममा  प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभएको थियो । अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले काम गरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतलज जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिनुभयो । ११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । यसपछि बाँधको काम सुरु हुने उहाँले बताउनुभयो । अरुण तेश्रो सन २०२२ मा सम्पन्न हुने पिडिएमा उल्लेख गरिएको छ । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत त्यहाँ जानुभएको थियो । सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहनुभएको छ । रासस

Facebook Comments