Sun. May 5th, 2024

आज महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

काठमाडौं, २०७७ कात्तिक २५ गते मंगलबार

राष्ट्रिय विभूति, समाज सुधारक तथा किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा विभिन्‍न कार्यक्रम आयोजना गरी हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्दको जन्मजयन्ती मनाउने गरिएको बताउनु भएको छ । सन्देशमा राष्ट्रपति भण्डारील सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्को रूपमा चित्रण गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ: ‘किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड ‍दिनुहुने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु ।  किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेन जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने फाल्गुनन्द जयन्तीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अन्तमा, फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगतिहरूलाई हटाउँदै प्रगतिशील‚ सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्‍ने कामना गर्दछु ।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले  ट्वीटमार्फत शुभकामना सन्देश दिनुहुँदै महागुरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।’

Facebook Comments