Fri. Apr 19th, 2024

मुख्यमन्त्री राईद्वारा टेम्के भ्यु टावरको शिलान्यास

काठमाडौं, २०७७ कात्तिक २४ गते सोमबार

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले सोमबार गृह जिल्ला भोजपुरस्थित टयाम्के डाँडामा रहेको भ्यु टावरकोे शिलान्यास गर्नुभएको छ । टावरको शिलान्यास गर्दै मुख्यमन्त्री राईले प्रदेश एककै महत्वपूर्ण धार्मिक, पर्यटकीय क्षेत्र टेम्के डाँडामा निर्माण हुन लागेको भ्यु टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ: ‘आज हाम्रो प्रदेशकै महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र टेम्के डाँडामा टेम्के भ्यु टावरको शिलान्यास गरेको छु । मलाई विश्वास छ यो टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुनेछ । त्यस्तै टेम्केमैयुङ उँपालिकालाई उज्यालो टेम्केमैयुङ गाउँपालिका घोषणा गर्ने सुखद अवसर मिलेको छ । म उज्यालो गाउँपालिका बनाउन अहोरात्र खट्नु हुने गाउँपालिका नेतृत्वलाई हार्दिक सम्मान गर्दै गाउँपालिकाबासी सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दछु । हामी क्रमशः वडा, पालिका, जिल्ला हुँदै चाँडै प्रदेश १ लाई उज्यालो बनाउने अभियानमा छौं।’

मुख्यमन्त्री राईले आईतवार खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय र भोजपुर टक्सार विमानस्थल सडकको उद्घाटन गर्नु भएको थियो । आईतवार नै उहाँले भोजपुर सभाहल र यलम्बर सभाहलको पनि शिलान्यास गर्नु भएको थियो । यस्तै टेम्के मैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका समेत घोषणा गरिएको छ । मुख्यमन्त्री राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टेम्के मैयुङलाई सोमवार उज्यालो गाउँपालिका घोषणा गरिएको हो ।

Facebook Comments